मिडिया शिक्षाका धेरै सम्भावना छन् - प्राध्यापक पी. खरेल

नेपालमा पत्रकारिता अध्यापन र अभ्यास दुवैमा लामो समय निरन्तर भूमिका बनाइराख्न सफल व्यक्तित्वको नाम हो प्राध्यापक पी खरेल ।

त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विषयको स्नातक तह शुरु हुँदाको बखतदेखि नै आवद्ध प्राध्यापक खरेल तीन दशकपछि अहिलेसम्म पनि अध्यापन गरिरहनुभएको छ ।

राइजिङ नेपालमा रिपोर्टरबाट पत्रकारिता करिअर शुरु गर्नुभएका खरेल सोही पत्रिकाको प्रधानसम्पादकबाट निवृत्त हुनुभएको हो ।

त्यसपछि पनि पत्रकारिता विभागको प्रमुख र राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्षको रुपमा समेत उहाँले आफ्नो दक्षता प्रमाणित गरिसक्नुभएको छ ।

उहाँ शिक्षणका साथसाथै पत्रकारिता तालिममा समेत विशिष्ट दक्षता राख्नुहुन्छ । नेपालमा पत्रकारिताको व्यावहारिक तालिम दिने उद्देश्यले स्थापित नेपाल प्रेस इन्स्टिच्युटको प्रारम्भिक दिनदेखि नै आवद्ध उहाँ अहिले कार्यकारी अध्यक्षको रुपमा उक्त संस्था हाँकिरहनुभएको छ ।

उहाँसँग मिडियामञ्चका लागि इन्द्रध्वज क्षेत्रीदुर्गा लामिछाने र यमुना चापागाईं ले नेपालमा मिडिया शिक्षा र पत्रकारिताका विभिन्न पक्षबारे गरेको कुराकानीः

 

प्रश्नः  नेपालमा मिडिया शिक्षाको सुरुवाती दिनबारे केही बताइदिनुस् न ।

खरेलः रत्नराज्य क्याम्पसमा सन् १९७६ मा प्रवीणता प्रमाणपत्र तह सुरु भइ सकेको थियो । १९७८को अन्त्यतिर बिए पत्रकारिता सुरु गर्ने कुरा भएर १९७९ मा पाटन संयुक्त क्याम्पसमा बिए सुरु भएको हो ।

म त्यतिबेला राइजिङ् नेपालमा चिफ रिपोर्टर थिएँ । पत्रकारितामा प्रवीणता प्रमाणपत्र तह सुरु गरिसकेको रत्नराज्यका पदाधिकारीहरु त्रिभुवन विश्वविद्यालयमा गएर पत्रकारितामा पनि बिए सुरु गर्ने कुरा गर्दा मानवस्रोतको अभावका कारण सक्दैनौ भन्ने जवाफ आएपछि पाटन संयुक्त क्याम्पसका प्रमुख डा. मंगलराज जोशीले म सक्छु भन्नु भएछ ।

भारतदत्त कोइराला र गोकुलप्रसाद पोखरेललाई साथ लिएर सुरु गर्ने योजनामा उहाँ हुनुहुन्थ्यो । सेमेस्टर प्रणालीमा कक्षा धेरै लिनुपर्ने,  टर्म पेपर लेखाउनु पर्ने जस्ता ठूलो दायित्व भएपछि भारतदत्त कोइरालाले बेलैमा म भ्याउँदिन भन्नुभयो ।

गोकुलप्रसाद पोखरेलले म पनि फुल टाइम त भ्याउन्न भन्नुभयो । त्यसपछि डा. मंगलराज जोशीले मसँग कुरा गर्नुभयो । मैले म पढाउन त पढाउँछु तर महिनावारी करार आधारमा मात्र भनेपछि नियुक्ति पत्र दिइयो र मेरो प्राध्यापन यात्रा पनि शुरु भयो ।


एकातिर त्यो बेलाको राइजिङ नेपालको चिफ रिपोर्टर अर्कोतिर प्राध्यापक हुँदाका जिम्मेवारी कसरी सम्हाल्नु भयो ?

हो मलाई अति गाह्रो भएको थियो त्यो बेला । पाटन पढाइञ्जेल साँझको कक्षा भ्याएर फेरी  पत्रिकाको कार्यालय जाऊ, आफू लेख, अरुले लेखेको पुनर्लेखन गर आदि धेरै काम हुन्थे । ति दिनहरुमा घर जाँदा सधैं दशभन्दा बढी बज्थ्यो ।

त्यही बीचमा रत्नराज्य क्याम्पसका विद्यार्थीले प्रवीणता प्रमाणपत्र यहाँ पढ्ने, बिएका लागि चाहीँ किन पाटन क्याम्पस जाने भनेर आन्दोलन सुरु गरे । त्यसपछि पाटनमा भइरहेको पत्रकारिताको बिए पनि रत्नराज्यमा सारियो ।  मेरो पनि सरुवा त्यहीँ भयो । अनि त्यहाँ कक्षा पनि बिहानमा हुन थाल्यो । त्यसपछि चाहीँ सजिलो भयो ।


नेपालमा मिडिया शिक्षाको स्तर

नेपालमा पत्रकारिता शिक्षा सुरु भएको ३६ वर्ष भइसक्यो । अहिलेसम्म आइपुग्दा नेपालको मिडिया शिक्षाको स्तर कस्तो छ ?

स्तरीयतामा चाहीँ धेरै सुधार गर्नुपर्ने छ । सम्पूर्ण शिक्षा क्षेत्रमै धेरै कमजोरी हुँदाहुँदै, गुनासो आउँदाआउँदै पनि ध्यान दिन नसकेको अवस्था छ सम्बन्धित अधिकारीहरुले ।


केकेमा सुधार गर्नु पर्ला?

एउटा त पाठ्यक्रममा। अर्को चाहिँ यो क्षेत्रमा लाग्ने शिक्षकहरुले पनि अध्ययन गर्ने, अपडेट रहने बानी विकास गर्नुपर्नेछ।


अनि परीक्षा प्रणालीलाई कसरी हेर्नुहुन्छ ?

परिक्षा प्रणाली मैले सबैको धेरै गहिरिएर हेरेको छैन । आफैंले पढाएको त्रिभुवन विश्वविद्यालयको मात्र हो । पास प्रतिशत हेर्यो भने सबैभन्दा गएगुज्रेको त्रिभुवन विश्वविद्यालयकै छ । किनभने स्नातकोत्तरमा पनि २५ प्रतिशत फेल हुन्छन् । अन्त चाहीँ के कारणले हो शतप्रतिशत र एकदमै राम्रो ग्रेड पाएको देख्छु । फेल भनेको त हुँदै हुँदैनन् ।

पाठ्यक्रम पनि पहिलेकै कायम छ । परिमार्जन गर्ने भनेर लागेको तीन चार वर्ष भयो । परिमार्जन भनेको त फाइनट्युनिङ् मात्रै भयो ।

त्यसलाई त पुर्णरुपमा नै परिवर्तन गुर्नपर्यो नि । त्यो भएको छैन । सम्भवतः अब एक वर्ष जतिमा हुन्छ कि जस्तो छ । मलाई आशा लागेको चाहीँ के भने चार वर्षे बिए गर्ने भनेपछि एमएलाई पनि असर पर्छ । त्यो बेला चाहीँ होला कि भन्ने आशा छ । 


बाहिरी देशका विश्वविद्यालयको पाठ्यक्रम हेर्दा हामीकहाँ यो चिज कमी छ वा यो चिज थप्न पाए हुन्थ्यो भन्ने के छ ?

सिद्धान्त अझ बलियो र बृहत पार्नुपर्छ । अर्को कोर्सअनुसार म्याच गरेर कम्युनिकेसनका केही ब्रान्च छानेर त्यसलाई पुग्ने पर्याप्त ल्याब सुविधा हुनुपर्यो ।

अहिले धेरै विद्यार्थी छन्, ल्याबको काम भएको छैन । त्यसैले अपेक्षा गरे अनुसार नतीजा आउँदैन । नत्र भने वर्ष बढाएर, कोर्स थपेर मात्रै केही हुँदैन । यस्तै पाराको शिक्षाले त बाहिरका विश्वविद्यालयमा गएर पढ्न फेरी दुई वर्षको कोर्स गर्नै पर्ने हुन्छ ।

हामीकहाँ अर्काको चाहीँ यो भएन र त्यो भएन भन्ने प्रवृत्ति छ । ल तिम्रोमा के राम्रो छ देखाऊ न त त्यो म पनि लागू गर्छु भन्दा देखाउँदैनन् ।

 

यतिका पत्रकारिता पढेका जनशक्तिका लागि बजार पर्याप्त छ जस्तो लाग्छ यहाँलाई ?

यत्रा धेरै पत्रपत्रिका, रेडियो, टेलिभिजन काठमाण्डौंभित्र र बाहिर सुरु भइरहेका छन्, वर्षौंदेखि  स्थापित छन् । त्यो सबैमा पत्रकारिता पढेकाहरु नै हुने हो भने बजार पनि छ र त्यसले जनताको सूचनाको हक पनि सुरक्षित हुन्छ ।

फेरी यो विषयले पत्रकारिता गर्न मात्र नभएर भाषण दिन समेत सिकाउँछ या भनौँ अरु धेरै कुरा पनि सिकाउँछ । तर त्यसमा भएको उपयोगितालाई नेपालका कुनै पनि विश्वविद्यालयले देखाउन सकेनौं । यो गर्न सक्यो भने राम्रो हुन्छ ।

 

पञ्चायत काल र अहिलेको पत्रकारिता

यहाँले पञ्चायतकालदेखि नै पत्रकारिता गर्न थाल्नु भएको हो । त्यो बेला र अहिलेको पत्रकारितामा के फरक देख्नु हुन्छ ?

प्रेस स्वतन्त्रताको हिसाबले चाहिँ आकाश जमिनको फरक छ । अहिले सबै मिडियाले धक नमानीकन राजनीतिक समाचार दिन सक्छन् । तर पहिलेका पत्रकारहरु अलिक बढी मेहनती,  बढी अध्ययनशील र  औसतमा भाषामा बढी पकड राख्थे भन्न सक्छु । धेरै राम्रा राम्रा समाचार पनि आउँथे, गैरराजनीतिक ।

पहिला राजनीतिक समाचार कम र अरु विषयमा ८०–८५ प्रतिशत समाचार, फिचर हुन्थे । सम्पादकीय लेखे पनि गैरराजनीतिक विषयमा हुन्थ्यो । अहिले राजनीतिक विषयमा बढी लेखिएको भेटिन्छ ।

सरकारी समाचार संस्थाहरुले त बहुदल आइसक्दासम्म पनि राजनीतिक समाचार दिंदैनथे । यो लोकतन्त्र आइसकेपछि चाहीँ देख्छु आलोचनात्मक समाचार पनि आएका छन् सरकारका । तर पनि प्रधानमन्त्रीको बरु दिन्छन् संचारमन्त्रीको दिंदैनन् ।

पहिला चाहीँ सरकारी सञ्चार संस्थाहरुमा एमालेको जिएम भयो भने प्रजातन्त्रवादीहरुले लेख नलेख्ने वा लेख नमाग्ने अनि काँग्रेसको जिएम भयो भने कम्युनिष्टको नमाग्ने वा नलेख्ने हुन्थ्यो । लोकतन्त्र आएपछि चाहीँ राजावादीका पनि लेखहरु देखेको छु । अरुका त हुने नै भए ।

 

पत्रकारिताको गुणात्मकता

समग्र पत्रकारिताको विकास हेर्दा २०४६ सालपछि नेपालमा पमिडियाको बिकासले ठुलो छलाङ् मार्यो भनिन्छ । २०६३ पछि त रेडियो र टिभीको पनि उत्तिकै विकास भयो । तर यसलाई धेरैले संख्यात्मक मात्र भयो भन्छन् । अरुले चाहीँ गुणात्मक पनि विकास भएको छ भन्छन्, तपाईँ कसरी हेर्नुहुन्छ ?

हुँदै नभएको ठाउँमा संख्यात्मक रुपमा आउनु पनि एक हिसाबले गुणात्मक वृद्धि नै जनाउँछ ।

अँग्रेजीमा एउटा भनाइ छ नि ह्वेन यु स्टार्ट फ्रम जिरो इट इज अल्वेज क्वालिटेटिभ इम्प्रुभमेण्ट अर्थात जब तपाईँ शुन्यवाट शुरु गर्नुहुन्छ, जहिलेपनि त्यो गुणात्मक विकास नै हो ।

दोस्रो कुरा पहिले काठमाण्डौंबाट १२–१५ वटा पत्रिका निस्कन्थे । ती पनि कुनै दुई र कुनै चार पृष्ठका हुन्थे । तिनमा खास सामग्री दुई पृष्ठ पनि हुँदैनथे ।

९५ प्रतिशत सामग्री राससबाट लिइएका हुन्थे नीजि पत्रिकामै पनि । राम्रा २–४ वटा साप्ताहिक चाहीँ काठमाडौँबाहिर पनि जान्थे । पत्रिकाहरु यत्तिमै सिमित थिए ।     

त्यस्तै त्यो बेलामा तलब दिने भन्ने केही पनि थिएन । अहिले सुधार हुँदै गएको छ । विशेष गरी रेडियोमा ठुलो बिकास भएको छ । हाम्रो देशमा जस्तो रेडियोहरुलाई पनि समाचारमुलक सामग्री प्रकाशन र प्रसारण गर्न दिने विश्वमै कम छ र दक्षिण एसियामा नेपाल मात्र हो ।

गुणस्तरमा धेरै गुनासोहरु पक्कै छन् । हचुवाको भरमा, सतही, निस्प्रभावी सुचनाहरु गए भन्ने छ । तर पनि निक्कै जानकारी पाएका छन् नि त मान्छेहरुले । भर्खर त सुरु भयो अब सुधार्ने बेला हुँदैछ ।


संघीयतामा नेपाली मिडिया

अहिले जुन परिवर्तन भइरहेको स्थिति छ, संघीयतामा जाँदा नेपालका मिडियाको विकासका लागि के सजिला र के अप्ठ्यारा होलान् ?  

मिडियाका जो अगुवाहरु भन्ने छन् ति पार्टी निकट नै छन् । त्यसले गर्दा  व्यावसायीक पत्रकारितालाई अगाडी बढाउन निक्कै गाह्रो हुन्छ ।

अहिले नै पनि नगरपालीकाका वडामा पनि पार्टी निकट संचारमाध्यमले मिडिया एड्भाइजर भनेर राखेको छ । यस्तो व्यवस्थाले संघियतामा अर्को खाने भाँडो बन्ला कि भन्ने डर छ, बन्नु हुन्न । तर नीति राम्रो बन्यो भने नेपाली मिडियाको बिकासका लागि यो अवसर पनि हो ।

हालसम्मको मिडिया संवाद

निर्मला शर्मा

बिष्णुहरि ढकाल

पन्नालाल गुप्ता

डा. ऋषिराज बराल

मैना धिताल

कुन्द दीक्षित

चन्द्र भण्डारी


Comment

You need to be a member of Media Manch to add comments!

Join Media Manch

Comment by Indra Dhoj Kshetri on June 4, 2012 at 12:35pm

What a good news, Prof. P. Kharel is now the chief of the central department of Journalism and Mass Communication, TU. Read news about his appointment here.

Comment by Indra Dhoj Kshetri on May 24, 2012 at 11:17am

Kharel sir is very popular among students, academia and practitioners, yet very critical on his approach and views. It was my pleasure to have an opportunity to interview him. I hope his deeply insightful views will benefit all the readers.

Comment by Ananta Koirala on May 22, 2012 at 3:22pm

फेरि एकपटक खरेलसँग क्लासमा बसेर पढेजस्तै लाग्यो। पढाउँदा पनि सरले भन्ने कुराहरू यस्तै हुन्थे। 'केही नभएको ठाउँमा केही हुनु पनि ठूलो कुरा हो। गुणस्तर त बिस्तारै सुधार्दै लैजानुपर्छ' कक्षाकोठामा नेपाली मिडियाको बारेमा कुरा हुँदा सुनिने यीनै कुरा हुन्। तर पनि हामीले संख्याको विकास जसरी थाम्ने नसकिने गरी गरेका छौं त्यसैगरी गुणस्तरीयता पनि सपार्नै मुश्किल हुने गरी बिगारेका छौं। पत्रकारिताको सिद्धान्त कक्षा कोठामा मात्र सिमित भएको छ व्यवहारमा हैन। त्यसैले खरेल सरकै कुरो: "सबैमा पत्रकारिता पढेकाहरु नै हुने हो भने बजार पनि छ र त्यसले जनताको सुचनाको हक पनि सुरक्षित हुन्छ ।"

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service